काठमाडौँ । अक्टोबर ५ देखि भारतमा शुरु हुने आइसीसी एकदिवसीय विश्वकप खेल्न भारत आउने पाकिस्तानी क्रिकेट टिमले भिसा नपाएको विषय बाहिर आएको छ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सोमबार आईसीसीसँग भिसा समस्याका कारण विश्वकपका लागि राष्ट्रिय टोलीको भारत भ्रमणमा ढिलाइ भएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
मिडिया रिपोर्टका अनुसार पीसीबीले भिसा ढिलाईका कारण टिमलाई विश्वकपको तयारीमा ठूलो प्रभाव पारेको दाबी गरेको छ । पाकिस्तानी टोली दुई दिनपछि भारत पुग्नुपर्नेमा अहिलेसम्म भिसा नपाएको दाबि गरिएको छ ।
पाकिस्तानले सेप्टेम्बर २९ मा हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा न्यूजिल्याण्डसँग र अक्टोबर ३ मा अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने तालिका रहेको छ । पाकिस्तानले विश्वकपमा आफ्नो पहिलो खेल अक्टोबर ६ मा नेदरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
पीसीबीले इस्लामाबादस्थित भारतीय उच्चायोगबाट भिसा क्लियरेन्सको पर्खाइमा रहेको बताइएको छ । भिसामा ढिलाई भएपछि पिसिबीले आइसीसीलाई पत्र लेखेको बताइएको छ । पाकिस्तानले सेप्टेम्बर २७ मा हैदरावाद पुग्नुअघि दुबईमा दुईदिने टोली क्लोज क्याम्प गर्ने तयारी भएपनि भारतीय भिसाको अनिश्चितताका कारण त्यो रद्द गरिएको बताइएको छ ।
आईसीसीका सीईओ जियोफ एलार्डिसलाई लेखेको पत्रमा पीसीबीले भारतमा हुने विश्वकपका लागि खेलाडी, टोली अधिकारी, फ्यान र पत्रकारहरूलाई दिएको भिसामा रहेको आफ्नो चिन्तालाई तीन वर्षभन्दा बढी समयदेखि सम्बोधन नगरिएको र पाकिस्तानसँग यस्तो असमान व्यवहार स्वीकार्य नहुने पनि पत्रमा उनले उल्लेख गरेको दाबि गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार भारतीय गृह मन्त्रालयले एनओसी नदिएको कारण भिसा प्रक्रियामा ढिलाई भएको बताइएको छ ।
पाकिस्तानले पछिल्लो पटक सन् २०१६ मा टी–२० विश्वकपका लागि भारत भ्रमण गरेको थियो ।