विरोधमा रहेका ई: को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह



काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका ई: को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह गरेको छ ।

बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै वार्ताबाट समस्याको समाधान गर्न गर्न आग्रह गर्दै काठमाडौँ महानगरको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ई: को स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 


आयोगले राष्ट्रिय सभागृह पुगेर उभिएर धर्नामा रहेका ई: सहितका अभियन्ताको स्वास्थ्य अवस्थाको अनुगमन गरेको जनाएको छ ।

आयोगको विज्ञप्ति: 

साना सडक व्यवसायीलाई विकल्प सहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आयोगका माननीय सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले हिंजो स्थलगत अनुगमन गरेको छ ।  

अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ‘ई’ र उनका साथीहरु एवम् धर्नास्थल वरपरका व्यापारीहरुसँग छलफल गरी जानकारी लिएको थियो । रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ‘ई’को दुवै खुट्टा अस्वभाविक रुपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधी सेवन गरिरहेको लगायतका जानकारीहरु अनुगमनबाट पाइएको छ । त्यस्तै, महानगरपालिकाबाट यस विषयलाई संवेदनशील रुपमा नलिएको गुनासोे प्रदर्शनकारीले गरेका छन् । आयोगले महानगरका अधिकारीहरुसँग छलफल गरी समस्या समाधानको लागि पहल गरिरहेको छ ।

निज ‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेशा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको छ । संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको छ । 

अतः धर्नामा रहेका व्यक्ति ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौँ महानगरपालिको ध्यानाकर्षण गराउँदछ । साथै, आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ ।