ललिता निवास प्रकरणको थुनछेक बहस सकियो, आजै आदेश आउने



काठमाडौँ । ललितानिवास जग्गा हिनामिना प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादी र सरकारी वकिलको तर्फबाट आइतबार बहस सकिएको हो ।

आइतबार समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको तर्फबाट बहस भएको थियो । घिमिरेको तर्फबाट अधिवक्ता मनोज भण्डारी, कञ्चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कमल प्रकाश घिमिरेले बहस गरेका थिए ।


यस्तै, सरकारी वकिलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवाली र चन्द्र सञ्जेलले उठेका विषयमा जवाफी बहस गरे । दुवैतर्फको बहस सकिएसँगै आजै ४ बजेसम्ममा न्यायाधीशले आदेश सुनाउने तयारी गरेका छन् ।

यस प्रकरणमा शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा मीनबहादुर गुरुङ, घमनकुमार कार्की, गोपाल कार्की र विनोद प्रसाद पौडेल, योगराज पौडेल, नारायणदास मिश्र, अरुण कुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरेसहित १८ जना थुनामा छन् । प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे आजै आदेश हुने भएको हो ।