महासचिव घनश्याम भुसालको टिप्पणी- एमाले पार्टी होइन ओली गुट हो



सल्यान । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले पार्टी नभएर ओेली गुटमात्र भएको टिप्पणी गरेका छन् । पार्टीको नीतिअनुसार नेता चल्नुपर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

एमाले ओेली रुचाउनेहरूको झुन्डमात्र समेत बताउँदै उनले जसका कारण संसद विघटनदेखि नेकपा विभाजन हुदैँ एमाले फुटेको बताए । समाजवादी प्रेस संगठन नेपाल, सल्यानले शुक्रवार खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले भने, ‘बामपन्थी कम्युनिष्ट पार्टी एक हुनुको साटो ओलीकै कारण एमाले फुटेको हो, हामीले विचार र सिद्धान्त मिल्ने कम्युनिष्ट पार्टीका विचमा एकताको कुरा गरिरहेका छौँ, तर ओलीकै कारण तत्काल एमालेसँग एकताको सम्भावना छैन ।’


उनले पार्टीको प्रशिक्षण शैलीमा सुधार गर्नुपर्ने जनाउँदै लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको दावी गरे । ‘लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी हो, देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक छ, त्यो पार्टी भनेकै नेकपा एकीकृत समाजवादी पार्टी हो’ उनले भने ।

महासचिव भुसालले पार्टी महाधिवेशन केन्द्रित भएको र महाधिवेशनबाट पार्टी राजनितिक र सांगठिक रुपमा बलियो बन्ने दावी गरे । ‘पछिल्लो राजनीतिक सन्नाटाको बारेमा हामीले देशभर पार्टीका नेता कार्यकर्ता र आमनागरिकलाई जानकारी दिने तयारी गरेका छौँ’ उनले भने । समाजवादी मोर्चाले सरकार टिकाउन मात्रै ध्यान नदिएर जनताका मुद्धामा केन्द्रित भएर काम गर्ने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव एवं भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य लक्षमण केसी, जिल्ला अध्यक्ष हरी केसी लगायतको सहभागिता रहेको थियो । संगठनका जिल्ला अध्यक्ष बुद्धि पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण उपाध्यक्ष बामदेव केसीले गरेका थिए ।