काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न पहल गरेको बताएका छन् ।
मन्त्रीको पदभार सम्हालेको पाँच महिना पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले मल आयातमा देखिएको समस्या समाधान गर्न खरिद प्रक्रिया छोट्याउन सार्वजनिक खरिद ऐन र नियमावलीमा संशोधन प्रस्ताव गरिएको बताए ।
उनले मल कारखाना अध्ययन गर्न लगानी बोर्डमार्फत दुई कम्पनीलाई अनुमति दिइएको बताए । उनले बाँझो जमिन उपभोग कार्यक्रम, कृषि विकास उद्यमशिलता कार्यक्रम, हरित विद्यालय र पोषण शिक्षा जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
कृषिमा दिइने अनुदानलाई उत्पादनमा आधारित बनाउन उत्पादन साथमा नगद हातमा भन्ने नीति अवलम्वन गरिएको उनको भनाइ छ । मन्त्री भुसालले लम्पी स्किन रोगको उपचार प्रभावकारी रुपमा गरिएकाले रोगको संक्रमण कम हुँदै गएको र स्वदेशमा नै यस रोगको खोप उत्पादन गर्नका लागि छिमेकी मुलुकबाट सिड भाइरस ल्याउने प्रक्रिया अघि बढाइएको बताए ।
उनले अहिलको चैते धानको उत्पादनलाई दोब्बर बनाए करिब ७ लाख मेट्रिक टन धान उत्पादन गर्न सकिने बताए । त्यस्तै, विभिन्न देशहरुसँग कृषि क्षेत्रमा सहयोग र सम्भावनाबारे छलफल गरिएको उनको भनाइ छ ।