काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतले आइतबार रिट निवेदक र विपक्षी दाहालका कानुन व्यवसायीको बहस सुनिसकेर आदेश सुनाउने मिति मङ्सिर १८ मा तय गरेको हो ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले बहस पछि आदेश सुनाउने मिति आगामी मङ्सिर १८ लाई तय गरेको हो ।
दाहालले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । दाहालको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै त्रिपाठीले २०७३ जेठ १२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले २०७३ वैशाख अन्तिममा आफूविरुद्ध षड्यन्त्र भएको अभिव्यक्ति दिएका थिए । उनले माओवादीविरुद्ध द्वन्द्वकालीन मुद्दालाई लिएर अदालत प्रयोग भएको भन्दै आलोचना गरेका थिए । सोही अभिव्यक्तिलाई लिएर अदालतमा मुद्दा परेको थियो ।