ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकार जसरी हुन्छ, हटाउनुपर्ने बताएका छन् ।
आइतबार ओखलढुङ्गाको रामपुरमा ‘गुरु लुइँटेल स्मृति पार्क’को उद्घाटनपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले महिनामा यो सरकारले एउटा सिन्को समेत नभाँचेको भन्दै जसरी पनि हटाउनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘अहिलेको यो सरकार बसिरहनु हुन्छ ? तपाइँहरू भन्नुस् त ? यस्तो सरकार राख्न हुन्छ ? तपाई हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भएपनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो । यति नालायक सरकार । जनता हेर्दैन, सुनतिर मात्र हेर्छ यो सरकार ।’ सरकारले नै भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको उनले आरोप लगाए ।
अध्यक्ष ओलीले भने, ‘ब्रेक शु ल्याउँछ–सुन, सिगरेट ल्याउँछ–सुन, पानी तान्ने मेसिन भन्छ–सुन । स्याउ ल्याउँछ–सुन । सरकारले भ्रष्टाचार बढाएको छ, तस्करी र हिंसा मच्चाएको छ । यस्ता सरकार किन राख्ने ? हटाउनैपर्छ ।’