चतुरबहादुर चन्दकै नेतृत्वमा क्यान, अरु को को थपिए ?



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार र शनिबार निर्वाचनमार्फत भएको प्रतिस्पर्धामा चतुरबहादुर चन्द अध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

अध्यक्षसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएका हुन् भने एक सचिव र १० केन्द्रीय सदस्य चुनावबाट निर्वाचित भएका छन् । सचिवमा पूर्वकप्तान पारस खड्काले जित हासिल गरेका छन् । प्रशान्तविक्रम मल्ललाई ११ मतले हराउँदै उनी सचिवमा निर्वाचित भएका हुन् ।


यस्तै, केन्द्रीय सदस्य महिलातर्फ जयन्तीदेवी भट्टको मात्र उम्मेदवारी परेको थियो । उनी निर्विरोध भइन् भने लुम्बिनीबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी निर्विरोध भए । बाँकी प्रदेशमा कोशीबाट अर्जुन पौडेलले जितेका छन् । सुनिलकुमार पौडेललाई १३ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् ।

यस्तै, मधेस प्रदेशमा माधवकुमार कर्माचार्य र मोहम्मद दाउद अन्सारीको बराबरी मत आएको छ । उनीहरूले ४२÷४२ भोट ल्याएका हुन् । उनीहरूमध्ये गोला प्रथाबाट कर्माचार्य विजयी भए भने बाग्मतीबाट दिवाकर घले निर्वाचित भएका छन् । उनले सुदीप पियालाई पराजित गरेका हुन् ।

यस्तै, गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत ल्याएका थिए । यस्तै, सुदूरपश्चिममा विक्रम विष्ट २९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी हरि रेग्मीले ३१ मत ल्याए ।

यसैगरी, खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन् । साउदले सर्वाधिक ५९ र पाठकले ५४ मत ल्याए । यस्तै आयूषको ५१ र चन्दको ३४ मत आएको छ । पाँचौंमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६÷२६ मत आएपछि गोला प्रथाबाट करनलाई विजयी घोषित गरिएको छ ।