काठमाडौँ । कोशी सरकारविरुद्ध रिटको सुनुवाइ आज हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
यसअघि शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएकोमा न्यायाधीश खतिवडा इजलासमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो ।
मुख्यमन्त्री थापाले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले आजबाट अन्तिम सुनुवाइ गर्न लागेको हो । उक्त रिटमाथि आज पूर्ण सुनुवाइ गर्ने गरी यसअघि नै पेसी तोकिएको थियो।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ ।
कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।