एसिया कपः नेपालले आज भारतको सामना गर्दै



काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत नेपालले आज भारतसँग् प्रतिस्पर्धा गर्दैछ । पहिलो पटक एसिया कपमा सहभागी भएको नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खे्ल सुरु हुनेछ ।

आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा छ भने नेपाल १५औँ वरीयतामा छ । यसका अतिरिक्त भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ । भारत दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियन पनि हो ।


१६औं एसिया कपमा यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान पछिल्लो आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा रहेको छ ।

नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा दुई खेल खेलेको पाकिस्तान चार अंकसहित पहिलो स्थानमा छ । पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो ।

तालिकामा एक अंकसहित भारत दोस्रो स्थानमा आसिन छ । तेस्रो स्थानमा रहेको नेपालले भने हालसम्म खाता खोल्न सकेको छैन । त्यसैले सोमबार हुने नेपाल र भारतबीचको खेल दुबै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ ।

पाकिस्तान यसअघि नै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुगिसकेको छ । अब समूह ‘ए’ बाट नेपाल र भारतमध्ये एक टोलीमात्र ‘सुपर फोर’ चरणमा पुग्नेछ । प्रत्येक समूहबाट माथिल्लो स्थानमा रहने दुई-दुई टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्ने प्रावधान छ ।

यस्तो स्थितिमा सोमबारको खेलमा दुबै टोली ‘गर वा मर’ को स्थितिमा हुनेछन् । सामान्यतः उक्त खेलमा जुन टोली विजयी हुन्छ त्यो सहजै प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ । तर, सोमबार हुने नेपाल र भारतबीचको खेल पनि वर्षाले विथोल्ने प्रबल सम्भावना देखिएको छ ।