एमाले वागमती प्रदेश अधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदान हुने



काठमाडौं । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदान हुने भएको छ । असोज ८ गते काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन र ९ गते निर्वाचन हुने अधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदान गरिने भएको हो ।

विद्युतीय मेसिनबाट मतदान गरिने भएपनि कतिवटा मेसिन प्रयोग गर्ने भन्ने विषयमा टुंगो लागिनसनेको एमालेका नेता रामेश्वर फुयाँलले जानकारी दिए । उनका अनुसार अधिवेशनको तयारी लगभग पुरा भएको छ । अधिवेशनमा झण्डै साढे १२ सय प्रतिनिधि सहभागी हुनेछन् ।


उद्घाटन अघि काठमाडौँका विभिन्न स्थानबाट र्यालीसहित नेता कायकर्ताहरु झाँकीसहित अधिवेशनस्थल आउने छन् । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच जना पदाधिकारीसहित २४० जना प्रदेश नेतृत्व छनोटका लागि अधिवेशन हुँदैछ ।

एमाले प्रदेश कमिटी अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशवराज पाण्डे, काठमाडौँका सानु श्रेष्ठ, दोलखाकी रचना खड्का लगायतले आकांक्षा राखेका छन् । तर एमाले नेतृत्वले सकभर सहमतिमै नेतृत्व चयन गर्नुपर्ने भन्दै प्रयास जारी राखेको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसके चुनावमार्फत छान्ने विकल्प बाँकी रहेकाले नेताहरुले आआफ्नो तयारी गरेको बुझिएको छ ।