उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई धन्यवाद व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किमको रूसको सुदूर पूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशङ्कालाई बढावा दिएको छ ।
भ्रमणका क्रममा उत्तर कोरियाली नेताले रूसी अन्तरिक्ष रकेटदेखि पनडुब्बीसम्मका सबै कुराको निरीक्षण गरेका थिए । यसमा पुटिनसँग राइफलको साङ्केतिक आदानप्रदान पनि समावेश रहेको छ ।
कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)का अनुसार किमले राष्ट्रपति पुटिन र रूसी नेतृत्वलाई विशेष ध्यान र सौहार्दपूर्ण आतिथ्यताका लागि धन्यवाद दिएका हुन् ।
केसीएनएका अनुसार रूसी महासङ्घको औपचारिक सद्भावना भ्रमणको कार्यतालिका सफलतापूर्वक पूरा गरी किम स्वदेश फर्किएका छन् ।
उनले ‘रुसको समृद्धि र त्यहाँका जनताको कल्याण’ को कामना पनि गरेको केसीएनएको रिपोर्टमा उल्लेख छ ।
उत्तर कोरिया र रूसको ऐतिहासिक मित्रत्रा कायम रहेको छ । युक्रेन आक्रमणको लागि मस्को र आणविक हतियार परीक्षणको लागि प्योङयाङ दुबै मुलुकले विश्वव्यापी प्रतिबन्धहरूको सामना गरिरहेका छन् ।
भ्रमणका क्रममा किमले पुटिनसँग दुर्लभ शिखर वार्ता गरेकाले रूससँगको द्विपक्षीय सम्बन्धलाई आफ्नो देशलाई पहिलो प्राथमिकता बनाउने बताएका थिए । चीन अहिले उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण सहयोगी र हितैषी देश हो ।
उत्तर कोरियाको तोपको गोला युक्रेनमा प्रयोग गर्न रूस आतुर छ भने प्योङयाङले स्याटेलाइट प्रबिधि र सोभियतकालीन सैन्य उपकरणको उन्नयनमा सहयोग खोजिरहेको विज्ञहरूले बताएका छन् ।
बुधबार पुटिन र किमबीच मस्कोबाट करिब आठ हजार किलोमिटर टाढा रहेको रूसको नयाँ भोस्तोच्नी कोस्मोड्रोममा भेटवार्ता भएको थियो ।
भेटपछि पुटिनले उत्तर कोरियासँग अझ बढी सहयोगको सम्भावना र सैन्य सम्बन्धका लागि ‘सम्भावना’ बारे कुरा गरेका थिए । तर रूसी प्रशासनिक केन्द्र क्रेमलिनले भने कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको र नहुने बताएको छ ।