अटोरिक्सा दुर्घटना हुँदा डडेलधुरामा दुई जनाको मृत्यु



डडेलधुरा । डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता एवम प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले बताए । 


अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते भएका छन् । उनको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।