२४ घण्टामा बंगलादेशमा डेङ्गुबाट तीनहजार भन्दाबढी सङ्क्रमित



बङ्गलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा तीन हजार १२२ जना नयाँ डेङ्गुका बिरामी फेला परेका छन् । यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो सङ्ख्या अहिलेसम्मको नै सबैभन्दा बढी भएको ढाका ट्रिब्युनले जनाएको छ । प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ८२२ पुगेको छ । ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८४९ जना र राजधानी बाहिरका अस्पतालमा डेङ्गुका बाँकी बिरामी भर्ना भएका छन् ।


ढाकामा चार हजार ६६ सहित १० हजार ४३७ डेङ्गुका बिरामी हाल देशभरका अस्पतालमा उपचाररत छन् । यस वर्ष अहिलेसम्म एक लाख ६७ हजार ६८४ जनामा डेङ्गु को सङ्क्रमण देखिएको छ भने निको हुनेको सङ्ख्या एक लाख ५६ हजार ४२५ पुगेको छ । यद्यपि, यो महिना मृत्यु हुनेको सङ्ख्या २२९ पुगिसकेको छ र भेक्टरजनित रोग अनियन्त्रित रूपमा फैलिरहेको छ।

बङ्गलादेशमा सन् २०२२ मा डेङ्गुका कारण २८१ जनाको मृत्यु भएको थियो । सन् २०१९ मा १७९ जनाको मृत्यु भएको र यो बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै १०० सङ्ख्याले बढी भएको हो ।

सन् २०२२ मा बङ्गलादेशमा ६२ हजार ४२३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने ६१ हजार ९७१ जना निको भएका थिए । यसैबीच युनिसेफले बङ्गलादेशलाई डेङ्गुको प्रकोप नियन्त्रणका लागि २२ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गर्ने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले छिट्टै स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा अन्य महत्वपूर्ण आपूर्ति र सेवाहरूका साथै तत्काल आवश्यक परीक्षण किटहरू र पेशेवरहरूको प्रशिक्षण प्रदान गर्नेछ । बङ्गलादेशको ६४ जिल्लामा अहिले डेङ्गुको प्रकोप फैलिसकेको छ ।