१८ दिनदेखि बेपत्ता शिक्षकको अवस्था अज्ञात, नेपाल-भारत दुबैतिर खोजी हुँदै



बैतडी । बैतडीमा १८ दिनदेखि एक शिक्षक बेपत्ता भएका छन् । यहि भदौ ५ गते विद्यालय जान भनि घरबाट हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनीका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अझै अज्ञात छ ।

बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गते विद्यालय हिँडेका र घर नफर्केका हुन् ।


शिक्षक बोहराले लगाएको चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेकाले खोला आसपास क्षेत्रमा प्रहरी परिचालल गरिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

‘उहाँ खोलामा खसेको हुनसक्ने भनेर गन्नीगाड, चमेलिया, महाकाली नदी आसपासमा प्रहरी परिचालन गरेका छौँ, खोजीका लागि नदी पारी दार्चुला र भारतीय प्रहरीलाई पनि जानकारी गराएका छौँ,’ खत्रीले भने।