सुन प्रकरणमा मेराे नाम जोड्नु गलत : मन्त्री लामा



काठमाडौं । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामाले सुन प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्री लामाले एक किलो सुन प्रकरणमा आफ्नो नाम जोडीएकोप्रति आपत्ति जनाएका हुन्।

गत मंगलबार मलद्वारमा लुकाएर दुबईबाट हिमालयन एयरलाइन्समार्फत ल्याएको सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो। सुनसहित पक्राउ परेका दोङमार्फत अनुसन्धान गर्दै जाँदा काभ्रेको तरुण दलका नेता विकास लामाको संलग्नता रहेको खुलेको थियो।


लामा र मन्त्रीबीच सम्बन्ध रहेको सञ्चारमाध्यममा आएको थियो। सोही विषयमा शनिबारको बैठकमा एमालेले सरकारको जवाफ समेत मागेको छ। मन्त्री लामाले भने शुक्रबार नै विज्ञप्ति जारी गर्दै कुनै प्रसंगमा कसैले खिचेको तस्वीरका कारण आफ्नो नाम जोड्नु गलत हुने जनाएका छन्।

छानबिनका लागि आफूले पनि सहयोग गर्ने भन्दै लामाले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्।