बाँके । बाँकेको एक बाल सुधार गृहबाट भागेका ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा थुनुवा दुई पक्षबीच झडप र तोडफोड भएको थियो ।
बाल सुधार गृह तोडफोड गरी भागेका ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए । उनका अनुसार उनीहरूलाई गएराति नै नियन्त्रणमा लिएर बाल सुधार गृहमै पठाइएको छ ।
दुई समूहको झडपले बाल सुधार गृह रातभर तनावग्रस्त बनेको थियो । झडपमा ११ जना घाइते भएका छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । बालगृहमा रहेका २५४ जना थुनुवा रहेका छन् ।