काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेकामा केही आयोजनामा देखिएको असर जलवायु परिवर्तनकै कारण रहेको बताएका छन् ।
बङ्गलादेशको ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपका जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उल्लेख गरे । उनले भने, “कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत छ ।”
दक्षिण एसियाका खासगरी तीव्र विकासमा अघि बढेका भारत र बङ्गलादेशको अनुभव नेपालका लागि काम लाग्ने उल्लेख गर्दै उनले नेपालले पूर्वाधार विकास तथा पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी गराए । सांसद सापकोटाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ आवश्यक रहेको बताए ।
तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित नेपाली कांग्रेसका प्रदीपकुमार पौडेल, नेकपा (एमाले) का ठाकुर गैरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोभिता गौतम तथा संसद्को पूर्वाधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन् ।
बङ्गलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसद्भित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ । बङ्गलादेशका सभामुख डा शिरिन शार्मिन चौधरीले उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन् ।