सहमतिबाटै नामाकरण विवादको अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री



विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जीवन लोकतन्त्र, गणतन्त्र, स्वतन्त्रताका निम्ती लडेका नेता र पार्टीहरू रक्षात्मक हुनेजस्तो परिस्थिति देखिएको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् ।

समाजवादी मोर्चाले सोमबार कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले गणतन्त्र, धर्मनिरपेक्षता, स्वतन्त्रताका लागि लडेका राजनीतिक दलहरूको पक्षमा जनता रहेको र त्यसको भान पार्नुपर्ने बताए ।


उनले सामाजिक सद्भाव भत्काउन र व्यवस्था परिवर्तन गर्न चाहनेहरूलाई जवाफ दिनुपर्ने पनि बताए । उनले भने, ‘जिन्दगीभरको राजनीति गणतन्त्र, लोकतन्त्र, क्रान्ति, स्वतन्त्रताको निम्ति भनेर लागेका पार्टी रक्षात्मक जस्तो, हिजोअस्ति हावाहुरी भएर आएकाहरू बडो पार्टीजस्तो ।’

विवाद र मुठभेटबाटभन्दा सहमतिबाटै प्रदेशको नामाकरण विवादको अन्त्य गरिनुपर्ने उनले बताए। यसका लागि सबै दल मिलेर वार्ता गर्नुपर्ने जिकिर उनले गरेका छन् ।

सामाजिक सञ्जालमा विकृतिको पक्षपोगण गर्नेहरू राजनीतिक नेताजस्ता भएर गइरहेको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको पनि विरोध गर्नुपर्ने पनि उनले बताए ।

अब बदमासी गर्नेहरूलाई जवाफ दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । समाजमा छरिएका भ्रम हटाउनका लागि मोर्चाले काम गर्ने उनको भनाइ थियो । उनले भने, ‘म त हेर्नै सक्दिन । चित्रहरू हेर्नै नसकिने खालका छन् । त्यस्तैहरू आएका छन् । निरङ्कुशताका दलालहरू हुन् ती । लोकतान्त्रिक दलका नेतालाई खुकुरी हान्ने ?


अब मोर्चाले इँटको जवाफ पत्थरले दिने हो, लाखौं जनतालाई सडकमा ल्याएर हामी जिउँदै छौँ भन्ने बनाउनुपर्‍यो । म राजनीतिक लडाइँमा छु । हतियारविहीन युद्धमा छु तपाईँहरूले साथ दिनु पर्‍यो ।’

त्यस्तै, कोशी प्रदेशबाट व्यवस्थाविरुद्ध आवाज उठ्न लागेको हो कि भन्ने लागेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले भने, ‘सामन्तवादका विरुद्ध विद्रोहको झन्डा उठाउने झापाको काँकडभिट्टाबाट इतिहासले मिल्काइसकेका राजा महाराजा आएर बोल्ने साहस गरिरहेका छन् । धर्म निरपेक्षता, धार्मिक स्वतन्त्रताका निम्ति लडेको क्षेत्र हो ।

सरकारले नक्कली शरणार्थी, बालुवाटारको ललिता निवास र सुन तस्करी काण्डका फाइल खोलेर भ्रष्टचारविरुद्ध ठूलो योजनासहित काम गरिरहेको बताए । उनले भने, ‘म सरकारमा जति दिन टिके पनि भ्रष्टचारविरुद्ध काम गरिरहन्छु ।’