सहकर्मी र सहयात्रीको निधनबाट स्तब्ध छुः पूर्वप्रधानमन्त्री खनाल



काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन् । वक्तव्य जारी गर्दै खनालले नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

खनालले एमाले उपाध्यक्ष नेम्वाङ ७ कक्षादेखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।


“हामीले माध्यमिक शिक्षासँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौँ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्यौँ”, नेता खनालले भने, “मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेँ, को–अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उहाँ र म एउटै पार्टीमा लामो समयसँगै काम गर्यौँ ।”

आफूहरु अलग–अलग पार्टीमा हुँदा पनि हाम्राबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै खनालले पार्टी विभाजन भएका प्रति नेम्वाङ निकै दुःखी भएको बताए ।

“मिलेर काम गर्ने उपाय के हुनसक्छ भन्नेबारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो”, उनले भने । नेम्वाङ सरल स्वभावको मृदुभाषी नेताका रूपमा जनजनमा परिचित भएको उल्लेख गर्दै उनले लामो समय सभामुख भएर संसद् परिचालनमा महत्वपूर्ण योगदान दिएको बताए।

नेम्वाङ भौतिकरूपमा नरहे पनि नेपालको कम्युनिष्ट, लोकतान्त्रिक र समाजवादी आन्दोलनमा गरेको योगदान सबैका सामु स्पष्ट रहेको उनको भनाइ छ । पूर्वसभामुख एवं वर्तमान सांसद नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो ।