सुर्खेत । मुगुको ताल्चा विमानस्थलबाट समिट एयरको जहाजले डाक्टरलाई छाडेर माओवादी नेताहरुलाई लिएर नेपालगञ्जका लागि उडेको पाइएको छ ।
सिट नपुगेको भन्दै टिकट लिएका १६ डाक्टर छोडेर नेकपा माओवादी केन्द्रका नेताहरूलाई लिएर समिट एयरको विमान उडेको थियो ।
भीआईपीका कारण सीट नपुगेको भन्दै टिकट काटिसकेका डाक्टरलाई विमानस्थलमै छाडेर समिट एयरले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, माओवादी उपमहासचिव मातृका यादव, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीलगायतका नेता लिएर नेपालगञ्ज पुगेको थियो ।
समिट एयरले भीआईपी सवारीका कारण टिकट काटिसकेकामध्ये ५ जना डाक्टरलाई लैजान नसकिने भनेपछि १६ जनानै नजाने अडान लिएका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगुको ताल्चा विमानस्थलमा छुटेका चिकित्सकहरूको खबरले दुःखित बनाएको भन्दै गन्तव्यमा पुऱ्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।