संविधान संशोधन गर्न हतार गर्नु हुँदैन : केपी ओली



काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका छन् ।

पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका हुन् । संविधान संशोधन गर्दा धेरै विषयमा विचार पुर्‍याउनुपर्ने उनको भनाइ छ ।


दुईपटक संविधान संशोधन गरिसकेको भन्दै उनले संविधान संशोधनअघि अहिले आवश्यक छ कि छैन भनेर विचार गर्नुपर्ने बताए । आवश्यक परेको अवस्थामा दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर व्यापक छलफलपछि मात्र संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ ।

यस्तै अध्यक्ष ओलीले सबै पार्टी र पक्षहरु मिलेर देशका समस्याहरु समाधान गर्नुपर्ने परिस्थिति आएको बताएका छन् । उनले देशप्रति जिम्मेवार भएर एकताबद्ध हुने पर्ने र समस्या समाधान गर्नुपर्ने बेला आएको र त्यसो हुन नसके धेरै प्रकारको खतराहरुबाट जेलिन सक्ने बताए ।