संविधान निर्माणमा नेम्वाङको उच्च भूमिका छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङले चौतर्फी दवावकाबीच संविधान जारी गर्न सफल भएको बताएका छन् । मंगलबार एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेम्वाङको राष्ट्रवादी सोचका कारण देशप्रतिको असाधारण निष्ठा रहेको भन्दै लामो राजनीतिक इतिहासमा कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदम नचालेकाले उनीबाट नेपाली राजनीतिले धेरै कुरा सिक्नुपर्ने बताए ।


अध्यक्ष ओलीले भने, ‘उहाँ वेइमान हुनुभएन, मिठो बोल्ने भन्दा पनि देशप्रति असाधारण निष्ठा थियो । देशहित विपरीतका कहिल्यै कुनै कदम चाल्नुभएन । असामूहिक, असान्दर्भिक र स्वार्थी कदमहरु कहिल्यै चाल्दै चाल्नुभएन ।’

उनले सुवासचन्द्र नेम्वाङको स्मृतिमा बोल्नुपर्दा आफूलाई अझै पत्यार नलागेको भन्दै नेम्वाङ आफ्नो सहयात्री भएको बताए । लोकतान्त्रिक आन्दोलन, संसदीय भूमिका, संविधान निर्माणलगायतका प्रश्नमा नेम्वाङको भूमिका उच्च रहेको भन्दै अध्यक्ष ओलीले नेम्वाङको निधनपछि एमालेले असाधारण क्षती बेहोरेको बताए ।

नेम्वाङले संविधान निर्माण र जारी गर्न प्रभावकारी र अभिभावकीय भुमिका निर्वाह गरेकै कारण संविधान जारी हुन सकेको उनको भनाइ थियो । ओलीले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, तत्कालीन राष्ट्रपति रामवरण यादव र मस्यौदा समितिका सभापति कृष्ण सिटौलालाई संविधान जारी नगर्न दबाब दिइएको बताए ।