राहत शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने



काठमाडौं । आन्दोलनमा रहेका राहत शिक्षकहरूले आज सडकमा सुतेर आन्दोलन गर्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो माइतीघर बानेश्वर सडक खण्डमा लम्पसार सुतेर आन्दोलन गर्ने भएका हुन् ।

राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह–अध्यक्ष नबिनसिंह धामीले आज १२ बजेतिर सडकमा लम्पसार सुतेर विरोध जनाउने कार्यक्रम रहेको बताए ।


शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरु असोज ३ गतेदेखि काठमाडौं केन्द्रीत आन्दालेनमा होमिएका थिए । गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो ।

उक्त सम्झौतामा आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिएका छन् । तर, सरकारी शिक्षकहरु भने सरकारसँगको सहमतिपछि विद्यालय फर्किसकेका छन् ।