यू-१९ विश्वकप क्रिकेटमा नेपाल समुह डी मा, यस्तो छ खेल तालिका ?



काठमाडौँ । आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप २०२४ को खेल तालिका सार्वजनिक भएको छ । एकदिवसीय फर्म्याटमा हुने यो विश्वकप १३ जनवरीदेखि ४ फेब्रुअरीसम्म श्रीलंकामा हुदै छ भने १६ देशले भाग लिदै छन् ।

श्रीलंकाले यो तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो, र सन् २००६ पछि पहिलो पटक हो । आयोजकले श्रीलंकाले १३ जनवरीमा जिम्बाब्वेसँग भिड्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।


यू-१९ विश्वकपमा नेपाल पनि खेल्दै छ । नेपाल समुह डी मा अफगानिस्तान, पाकिस्तान र न्यूजील्याण्डसँग परेको छ ।

त्यस्तै समुह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका रहेका छन् भने समुह बी मा इङल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइण्डिज र स्कटल्याण्ड रहेका छन् । त्यस्तै समुह सी मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया रहेका छन् ।

हरेक समुहका शिर्ष तीन टिम सुपर सिक्समा पुग्ने छन् । सुपर सिक्समा पुग्ने १२ देशलाई दुई समुहमा बाडेर सुपर सिक्सका खेल खेलाइने छन् । सुपर सिक्समा हरेक देशले दुई खेल खेल्ने छ ।

दुवै टिमका शिर्ष २ टिम सेमिफाइनलमा पुग्ने छन् र सेमिफाइनल विजेताले फेब्रुअरी ४ मा फाइनल खेल्ने छन् ।

नेपालले यू-१९ विश्वकपमा आठौ पटक भाग लिदै छ । यसअघि सन् २००० मा नेपालले पहिलो पटक यू-१९ विश्वकप खेलेको थियो । त्यसपछि पछिल्लो पटक नेपाल २०१६ मा बंगलादेशमा आयोजित यू-१९ विश्वकपमा खेलेको थियो । 

यू-१९ विश्वकपको उपाधि अहिलेसम्म भारतले सबैभन्दा बढी पाँच पटक जितेको छ । भारत यू-१९ विश्वकपको डिफेन्डिङ च्याम्पियन समेत हो । त्यसपछि अस्ट्रेलियाले तीन पटक र पाकिस्तानले २ पटक यो उपाधि जितेका छन् । त्यस्तै बंगलादेश, दक्षिण अफ्रीका, वेस्टइण्डिज र इङल्याण्डले एक एक पटक यू-१९ विश्वकपको उपाधि जितेका छन् ।