भारतको सौर्ययानले पठायो पहिलो तस्बिर



भारतको अन्तरिक्ष निकाय इसरोले सूर्यको अवलोकनका लागि त्यसतर्फ जाँदै गरेको आफ्नो अन्तरिक्षयानले पठाएको पहिलो तस्बिर सार्वजनिक गरेको छ । भारतको अन्तरिक्ष अभियान आदित्य– एल वानले पृथ्वीबाट सूर्यतर्फको १५ लाख किलोमिटर टाढाको यात्रामा अघि बढिरहेको छ।

यो भाग पृथ्वी र सूर्यबीचको पूरा दूरीको १ प्रतिशत मात्रै हो । यो अन्तरिक्ष यानलाई आफ्नो गन्तव्यमा पुग्न चार महिना लाग्ने इसरोले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो ल्यान्डर अवतरण गर्ने पहिलो देश बनेको केही दिनमै भारतको पहिलो सौर्य अन्तरिक्ष अभियान प्रक्षेपण भएको हो । बिहीवार बिहान इसरोले आदित्य– एल वानमा जडित क्यामराबाट सेप्टेम्बर ४ मा लिइएका दुई वटा तस्बिर सार्वजनिक गरेको हो ।


त्यसमध्ये एउटा तस्बिरमा एउटै फ्रेमभित्र पृथ्वी र चन्द्रमा देखिन्छन्। त्यसमा पृथ्वी निकै ठूलो देखिएको छ भने चन्द्रमा निकै टाढा र सानो धब्बाजस्तो मात्रै देखिन्छ । दोस्रो तस्बिर चाहिँ ‘सेल्फी’ हो। त्यसमा सूर्यतर्फ गइरहेको अन्तरिक्षयानमा रहेका सात वटा वैज्ञानिक उपकरणहरूमध्ये दुई वटा उपकरण देखिन्छन् ।

सौर्य प्रणालीको सबैभन्दा ठूलो वस्तु अध्ययनका लागि भारतले पठाएको अन्तरिक्षमा आधारित पहिलो अभियानको नाम पनि सूर्यको नामबाट राखिएको छ । हिन्दू धर्ममा देवताको रूपमा पुजिने सूर्यलाई आदित्य नामले पनि चिनिन्छ। युरोपेली अन्तरिक्ष निकायका अनुसार लाग्रान्ज यस्तो विन्दु हो जहाँ सूर्य र पृथ्वीजस्ता दुई ठूला वस्तुको गुरुत्वाकर्षण शक्तिले एक अर्काको शक्ति शून्य बनाउँछन् र त्यसका कारण अन्तरिक्षयान त्यहाँ अडिन सक्छ ।

आदित्य–एल वान आफ्नो अडिने स्थानमा पुगेपछि यसले सूर्यलाई फन्को मार्न सक्छ। यसले सूर्यलाई परिक्रमा गर्ने गति पनि पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गतिबराबर हुन्छ। यो सहज स्थानमा रहेर आदित्य– वानले सूर्यलाई निरन्तर निगरानी गर्नुका साथै वैज्ञानिक अध्ययनहरू गर्नेछ । इसरोले यो अभियानको लागतबारे केही खुलाएको छैन। तर भारतीय सञ्चार माध्यमहरूमा यसको खर्च ६ अर्ब नेपाली रुपैयाँ बराबर भएको बताइएको छ ।