प्रधानमन्त्री र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता



न्युयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । आइतबार बेलुकी राष्ट्रसंघको मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल र राष्ट्र संघबीचको सम्बन्ध, राष्ट्र संघमा नेपालको भूमिकालगायत विषयमा कुराकानी भएको थियो । भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारीलगायतका विषयमा समेत छलफल भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन लागि प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका आएका हुन् ।


प्रधानमन्त्री प्रचण्डले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य दिने कार्यसूची छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।