काठमाडौं । हाल अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि चीन जाँदैछन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणमा उनी आठ दिने भ्रमणका लागि भोलि शुक्रबार अमेरिकाबाटै चीन जान लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङ्झाउमा भेटवार्ता गर्ने कार्यक्रम छ ।
यस्तै उनले आफ्ना समकक्षी प्रधानमन्त्री लीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नेछन् । बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता तय भएको मन्त्रालयले जनाएको छ ।
यस्तै प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासमा आयोजना गरिएको चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरि प्रधानमन्त्री सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमणमा जाने पनि कार्यक्रम बनेको छ । यस्तै उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् ।
उनको भ्रमण टोलीमा प्रचण्डपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ तथा अन्य वरिष्ठ सरकारी अधिकारी र व्यापारी समुदायका प्रतिनिधिहरु रहने मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री आफ्नो ८ दिने भ्रमण पुरा गरेर असोज १३ गते स्वदेश फर्किनेछन् । पाँच वर्षको अन्तरालमा हुन लागेको नेपाली प्रधानमन्त्रीको चीन भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।