पोखरेली र सुर्खेती स्रष्टा एकै मञ्चमा



गण्डकी । बिहीबार साँझ पोखरेली र सुर्खेती स्रष्टा एकै मञ्चमा देखा परे । न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरको सभाकक्षमा उनीहरूले एकापसमा अनुभूतिमात्र साट्न्भएन सिर्जना पनि सुनाए ।

सुर्खेतदेखि कवि डा. महेन्द्रबहादुर मल्ल, गजलकार धीरेन अनुपम र पहल असीम पोखरा आएको मौका छोपेर नेपाली लेखक सङ्घ गण्डकीले काव्य साँझको चाँजोपाँजो मिलाएको थियो । कार्यक्रममा कवि मल्लको कविता कृति ‘भाषाको बकपत्र’माथि चर्चासँगै कविता प्रस्तुत गरिएको थियो । कवयत्री रीता अधिकारीले मल्लको कविता ‘सम्झँदै नसम्झनु’ र डा. ईश्वरमणि अधिकारीले ‘श्रेष्ठता’ शीर्षकको कविता वाचन गरेका थिए ।


कवि मल्लले आफ्नै कृतिबाट ‘फूल’ शीर्षकको कविता वाचन गरेका थिए । गजलकार धीरेन अनुपम र पहल असीम गजलसहित प्रस्तुत भएका थिए । पोखरेली गजलकार दीपक समीप र प्राञ्जलले गजल, श्रीराम अधिकारी मुक्तक र रोशन तिमिल्सिनाले कविता सुनाएका थिए ।

कवि मल्लले कला र विचारको समिश्रणबाट उत्कृष्ट साहित्य जन्मने धारणा राखे । “कला कलाका लागि मात्र नभएर कला समाज र सभ्यताका लागि हुनुपर्छ भन्ने मान्यता म राख्छु”, उनले भने, “कला स्वायत्त र स्वतन्त्र विधा त हो तर यसको पनि उपादेयता हुनुपर्छ, नत्र कला मर्छ ।”

नेपाली लेखक सङ्घ गण्डकीका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले मल्लका कवितामा सरल अभिव्यक्ति पाइने बताए । वैचारिक दृष्टिबाट पनि खारिएका कविताले कृतिको ओज बढेको उनको भनाइ थियो । “तुलनात्मकरूपमा कविता केही लामा भए पनि भाव, सौन्दर्य र शिल्पका हिसाबले उहाँका कविता सुन्दर छन्”, अध्यक्ष डा. अधिकारीले भने ।