पुँजीवादको विरुद्ध सबै दल एकजुट हुनुपर्छः अध्यक्ष नेपाल



हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कमजोरीलाई स्वीकार गर्दै दृढ भएर जनताका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार हेटौंडामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हामी सबै एक भएर राजतन्त्र ढाल्यौँं, हाम्रो एकता आज अवस्था परिवर्तनका लागि तथा समाजवादको पक्ष र पुँजीवादको विरुद्धमा हो ।’


अध्यक्ष नेपालले समानताको सिद्धान्त लागू गर्न र जनतालाई स्तरीय जीवन बाँच्न पाउने आधार तयार गर्नका लागि समाजवादी मोर्चाका दल एक भएर काम गर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ र सहयोग गर्ने स्पष्ट पारे ।

उनले वर्तमान सरकारले जनताको पक्षमा काम गरिरहेको भन्दै सरकारलाई अझ सशक्त बनाउँदै जनपक्षीय काममा लाग्न सुझाव दिए । समाजबादी फोरमका नेता शिवलाल थापा मगरले पहिचानवादीका नाममा आन्दोलन गर्नेलाई झुटा मुद्दा लगाइएको बताउँदै तत्काल रिहाइको माग गरे ।

संविधानमा उल्लेख भए बमोजिम स्थानीय भाषामा पठनपाठन गरिनुपर्ने र सोतर्फ वर्तमान सरकार लागेकोमा उनले धन्यवाद दिए । उनले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै थप फाइल खोल्न पनि सुझाव दिए ।