तुलसीपुर (दाङ) । पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो ।
दाङको ऐतिहासिक हापुरे बजार जोड्ने उक्त सडक १९ किलोमिटर रहेको छ । तीमध्ये १२ किमीमा कालोपत्र र बाँकी रहेको सात किमीमा मर्मत गरिने लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।
सोही सडकका लागि २८ करोड बजेट आएको छ । सोहीअनुसार कामको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए । “माथिल्लो सडक बिग्रिँदा आवतजावतमा निकै समस्या हुने गरेको छ, सबैले यो सडक स्तरोन्नतिको माग पनि गर्नुभएको छ”, उनले भने, “त्यसैले यो सडक स्तरोन्नतिका लागि प्रक्रिया अघि बढिसकेको छ ।” उक्त सडकले तुलसीपुरको गहतेखोलादेखि हापुरे जोड्छ ।
साथै सोही सडकमा पर्ने तीन खोलामा पुल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाउँदै त्यसका लागि सर्भेको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए । उनले समयमै काम पूरा गर्ने गरी प्रक्रिया अघि बढेको बताए ।