नेम्वाङको स्मृतिमा एमालेले असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने



काठमाडौं । नेकपा एमालेले दिवंगत संविधान सभा अध्यक्ष तथा पार्टी उपाध्यक्ष सुवास नेम्वाङको स्मृतिमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको कार्यालय बैठकले आगामी असोज २ गते ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्ने निर्णय गरेको हो ।


गोष्ठी गर्ने निर्णय गर्दै बैठकमा सातै प्रदेशमा जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन् भने ६ प्रदेशमा उपाध्यक्षहरूलाई खटाइएको छ ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेशको जिम्मा दिइएको छ । कोशी प्रदेशको इलाममै गोष्ठी गर्ने एमालेको तयारी छ । नेम्वाङ इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित थिए । इलाममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ताका रूपमा जाने छन् ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली जाने छन् । गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको छ। कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने छन् । नेम्वाङको गत सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।