नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनकै लागि ठूलो पीडा : एमाले



काठमाडौं । नेकपा एमाले ले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको बताएको छ ।

कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले आज शोक वक्तव्य जारी गर्दै उनको अकल्पनीय, आकस्मिक र अत्यन्त दुःखद् निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको बताए ।


उनले नेम्वाङको असामयिक देहावसानले एमाले पार्टी पङ्क्तिका लागि मात्रै नभई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनकै लागि ठूलो पीडा र क्षति पुगेको उल्लेख गरे ।

नेता नेम्वाङको आज बिहान १ः५० बजे उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । शोक वक्तव्यमा भनिएको छ, ‘उपाध्यक्ष नेम्वाङले राष्ट्र र जनताको हितमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कनसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ र उहाँको असल गुणहरूबाट निरन्तर प्रेरणा लिइरहने सङ्कल्प गर्दछौँ ।’

उनी सामाजिक आर्थिक रूपान्तरणको अभियान तथा लोकतन्त्र, सामाजिक न्याय, संविधान र विधिको शासन तथा मानवअधिकारका पक्षमा अविचलित रूपमा उभिने नेताको रूपमा परिचित रहेका कार्यवाहक महासचिव ज्ञवालीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘मृदुभाषी, सरल र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गर्नुभएका सुवासचन्द्र नेम्वाङ विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि विशिष्ट क्षमता राख्नुहुन्थ्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्त जटिल र तनावपूर्ण अवस्थालाई पनि सहज तुल्याउँदै समस्याको निकास निकाल्न उहाँले धेरैपटक अविस्मरणीय भूमिका खेल्नुभएको छ ।’

नेता ज्ञवालीले नेम्वाङले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा असाधारण योगदान गरेको भन्दै संविधानसभाका अध्यक्षका रूपमा नेपालको संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभाको दुई–दुई पटक नेतृत्व गर्दै संविधान निर्माण गर्न अग्रणी भूमिका खेल्नुभएका उहाँको योगदान नेपालको इतिहासमा अमिट रूपमा स्थापित गरेको उल्लेख गरे।

विसं २००९ फागुन २८ गते बुबा रामबहादुर नेम्वाङ र आमा अपिन्द्रकुमारी नेम्वाङको कोखबाट इलाम नगरपालिका–७ मा जन्मनुभएका नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभा (२०६३), अन्तरिम संविधान जारी भएपछि गठित व्यवस्थापिका संसद् (२०६३), संविधानसभाको निर्वाचनपछिको व्यवस्थापिका संसद् (२०६५) तथा २०७० गरेर चारपटक सभामुखको जिम्मेवारी अत्यन्त कुशलतापूर्वक बहन गरेका थिए ।