नेम्वाङको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने, असोज २ गते शोक सभा गर्ने



काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्मानमा पार्टीको झण्डा तिन दिन आधा झुकाउने र केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

आजै च्यासलमै बसेको एमालेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङको निधनमा दु:ख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरेको पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।


साथै तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए । त्यसैगरी एमालेले असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जली सभा आयोजना गर्ने समेत निर्णय गरेको छ ।

पार्टीका उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनपछि आकस्मिक रूपमा बसेको बैठकमा नेम्वाङ बस्दै आएको कुर्सी भने खाली राखिएको थियो  र यसअघिका सचिवालय बैठकमा नेम्वाङ बस्दै आएको कुर्सीमा माला राखिएको थियो ।

अहिले नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट श्रद्धाञ्जलीका पार्टी कार्यालय च्यासल पुर्याइएको छ र एमालेले नेम्वाङलाई श्रद्धान्जली दिन चाहने सबै पार्टी कार्यालयमा आउन सक्ने बताएको छ ।

ज्ञवालीले नेम्वाङको अन्त्यष्टि भोलि हुने सम्भावना रहेपनि अहिले निश्चित नभएको र यस बारेमा जानकारी गराइने बताए ।