सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेकपा व्युँताउन सम्भव नरहेको बताएका छन् । बुधबार एमाले कर्णाली प्रदेशकाे प्रथम अधिवेशनलाई उद्घाटन गर्दै ओलीले नेकपा सरकार ढालेर नेपाली कांग्रेसको शरणमा गएकाहरूले नै जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गरेको दावी गरे ।
अध्यक्ष ओलीले भने, ‘नेकपा ब्युँताउने कुरा अब सम्भव छैन । नेकपा सरकार ढालेर कांग्रेसको शरणमा पर्न गएकाहरूले नै हो जनतालाई झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दैछन् ।’
‘कम्युनिष्ट हुँ’ भन्नेहरू अब एमालेमा आउनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले प्रदेश अधिवेशन सकेसम्म सहमतिमा नेतृत्व चुन्न आग्रह गरे । सहमति नभए चुनावी प्रतिस्पर्धा हुने उनको भनाइ छ । तर, अधिवेशन सकिएपछि जित र हारभन्दा पनि पार्टीका काममा लाग्नुपर्ने उनले सुझाए ।
अहिले एमालेमाथि घेराबन्दी भइरहेको बताउँदै उनले भने, ‘विदेशीको इसारामा चल्नेहरूले अहिले सरकार चलाइरहेका छन् । एमाले राजनीतिक नेतृत्व मात्र होइन विकास र समृद्धिको पनि अगुवाइ गर्न सक्ने पार्टी हो ।’ अहिलेको सरकारले विपक्षीका कुरा नसुन्ने ओलीको आरोप छ ।