देउवालाई भेटेर शेखरको चेतावनी : तपाईं नसच्चिए अब सहकार्य हुँदैन’



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी सञ्चालन कार्यशैलीलगायत विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । नेता कोएरालाले आज (बुधबार) बिहान देउवा निवास धुम्बाराही पुगेर पार्टीभित्र गरिने कार्यशैली सच्याउन आग्रह गरेका हुन् ।

सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेको आरोप लगाउदै कार्यशैली सच्याउन सचेत गराएका हुन् । ‘तपाईले आजदेखि कि कोर्स करेक्सन गर्नुस् । होइन भने हामी आफ्नो तरिकाले अघि बढ्छौं । तपाई आफ्नो तरिकाले चल्नुहुन्छ भने भेटेर के औचित्य रह्यो र रु’ नेता कोइरालाको भनाई उद्दृत गर्दै एक नेताले भने ।


आफु पक्षको बैठक बसेको भोली पल्ट नै देउवालाई भेट्न नेता कोइराला, उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियारसहित धुम्बाराही पुगेका थिए । कोइरालाले मंगलबार बालुवाटारस्थित सचिवालयमा आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा केन्द्रीय सदस्यहरूले सभापति देउवालाई भेटेर एकलौटी रूपमा पार्टीका निर्णय नगर्न सचेत गराउन कोइरालासँग आग्रह गरेका थिए ।

सभापति देउवासँग कोइरालाले पार्टी एकलौटी रूपमा सञ्चालन हुने गरेको र विधि विधान तथा सिद्धान्तविपरीत कामकारबाही भइरहेकोमा ध्यानाकर्षण गराएका हुन् । कांग्रेस केन्द्रदेखि प्रदेशका सरकारमा सहभागी भए पनि प्रभावकारी काम हुन नसकेको उनको भनाइ थियो ।