जसपाका केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय सङ्ठनको जिम्मेवारी



काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज शिवलाल थापाको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्यलाई सङ्गठन गठन, पुनर्गठनको जिम्मेवारी दिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 


उनका अनुसार जिम्मेवारी प्राप्त केन्द्रीय सदस्यले गण्डकी प्रदेशस्तरीय सङ्गठन वा समिति गठन वा पुनर्गठन गर्नुपर्ने र गण्डकी प्रदेश समिति पुनर्गठन गर्न केन्द्रीय सदस्य धनप्रसाद तामालाई तोकिएको छ । 

केन्द्रीय सदस्य सोम नेपालीलाई शिल्पी दलित विशेष समिति, केन्द्रीय सदस्य पानबहादुर घर्तीलाई समाजवादी आदिवासी जनजाति महासङ्घ, शर्मिला थापा मगर र पासाङ थापा मगरलाई समाजवादी महिला सङ्घ गठन, पुनर्गठनको जिम्मेवारी दिइएको छ । 

केन्द्रीय सदस्य जुनु पुनमगरलाई सांस्कृतिक महासङ्घ, केन्द्रीय सदस्य अर्जुन लम्साललाई ट्रेड युनियन महासङ्घ, केन्द्रीय सदस्य ज्ञानु आचार्यलाई समाजवादी खस/आर्य सङ्घ गठन पुनर्गठनका लागि तोकिएको र गण्डकी प्रदेशले केही केन्द्रीय सदस्यलाई यसअघि नै जिल्ला समिति पुनर्गठनको जिम्मेवारी तोकेको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।