खार्तूम हवाई आक्रमणमा ४० भन्दाबढीको मृत्यु



सुडानको राजधानी खार्तूमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् ।

सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’को कमाण्ड सम्हाल्ने उहाँका पूर्व डेपुटी मोहमद हमदान डग्लोबीच गत अप्रिलमा भएको युद्धमा आइतबार बिहान गरिएको आक्रमण सबैभन्दा घातक आक्रमण हो । “स्थानीय समयअनुसार बिहान ७ः१५ बजे सैन्य विमानले कोउरो बजार क्षेत्रमा बमबारी गरेको थियो,” स्थानीय प्रतिरोध समितिले भनेको छ ।


समितिले ३० जनाको मृत्यु भएको अघिल्लो सङ्ख्यालाई पुनरावलोकन गर्दै क्वोरो बजार नरसंहारका पीडितहरूको सङ्ख्या दिउँसोसम्म ४० पुगेको पुष्टि गरेको छ । समितिले नजिकैको बशैर अस्पतालमा हताहत हुनेको सङ्ख्या बढ्दै गएकाले मृत्यु सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।

अस्पतालले त्यस क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई ‘तत्काल अपील’ जारी गर्दै ‘घाइतेको बढ्दो सङ्ख्या’को उपचारमा सहयोग गर्न आग्रह गरेको छ । सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ मा सुरु भएको युद्धमा करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ ।

घाइते र मारिएका मध्ये धेरै अस्पतालमा पुग्न नसकेको भन्दै मृत्यु हुने व्यक्तिको वास्तविक सङ्ख्या अझै धेरै रहेको अनुमान गरिएको छ ।धेरै क्षेत्रहरूमा सहज आवतजावत (पहुँच) पूर्ण रूपमा विच्छेद भएको छ र युद्धरत पक्षहरूले आफ्नो क्षतिको घोषणा गरेका छैनन् । युद्ध शुरू भएको झण्डै पाँच महिना बितिसक्दा पनि कुनै पनि पक्षले निर्णायक फाइदा लिन सकेका छैनन् ।