कोशी सरकारविरुद्ध परेको रिटमा सुनुवाइ भएन



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ हेर्न नमिल्ने भएको छ । आज सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्धय इश्वरप्रसाद खतिवडा र सुस्मालता माथेमाको इजलासमा पेशी तोकिएको थियो ।

तर, न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि आज सुनुवाइ नै नहुने भएको हो । कोशीमा सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर मुख्यमन्त्री थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च गएका थिए ।


भदौ ६ गते प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश खतिवडाकै एकल इजलासले सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भन्दै दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । खतिवडाले नै आज पूर्ण सुनुवाइका लागि पेसी तोकेका थिए । तर गोलाप्रथाबाट पेसी तोक्दा उनैको इजलासमा परेपछि सुनुवाइ नुहुने भएको हो ।