कोशी सरकारविरुद्धको मुद्धामा पूर्ण इजलासमा बहस सकियो



काठमाडौँ । कोशी प्रदेशको सरकारविरूद्ध परेको मुद्दाको पूर्ण इजलासमा अन्तिम बहस सकिएको छ ।

कोशी सरकारले लिएको विश्वासको मतको विरुद्ध परेको रिटमाथि न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा आज अन्तिम बहस सकिएको हो ।


अन्तिम बहस सकिएसँगै पूर्ण इजलासले आजै फैसला सुनाउन सक्ने वा फैसला सुनाउने दिन तोक्ने सम्भावना रहेको छ ।

यहि भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो । यस मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो।

साथै सर्वोच्चले यस मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउन आदेश दिएपछि पूर्ण इजलासमा यसको सुनवाई भएको हो ।

यसअघि तत्कालिन सभामुख बाबुराम गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चको पूर्ण इजलासले सभामुखलाई सो अधिकार नहुनेभन्दै मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरेको थियो ।