कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर, कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश



काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत बदर गर्ने फैसला सुनाएको छ । बिहीबार न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासले विश्वासको मत बदर गर्ने फैसला सुनाएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गर्दै सर्वोच्च अदालतले एमालेका हिक्मतबहादुर कार्कीले दायर गरेको रिट जारी हुने फैसला सुनाएको हो । योसँगै मुख्यमन्त्री थापाले दोस्रोपटक मुख्यमन्त्री पद गुमाएका छन् ।


सर्वोच्च्ले मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश जारी गरेको छ । संविधानको धारा १६८को उपधारा २ अनुसार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा आदेश गरेको हो । प्रदेशसभा सदस्य कांग्रेसका इस्राइल मन्सुरीले सभाको अध्यक्षता गरेका थिए ।

उनले मतदान सकिएर मत सच्याउन दिएको समयसमेत समाप्त भएपछि अध्यक्षको आसनमा अध्यक्षमण्डलकी अर्की सदस्य माओवादीकी गीता तिम्सिनालाई बसाएर विश्वासको मतको पक्षमा मतदान गरेका थिए । मन्सुरी र तिम्सिना दुवै जनाको मत जोडेर विश्वासको मतको पक्षमा ४७ र विपक्षमा ३० मत परेकाले मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको मन्सुरीले घोषणा गरेका थिए ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले आदेश जारी गरेको हो । जसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाइएको थियो । भदौ ४ गते थापाले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा संविधानको उल्लंघन भएको भन्दै एमाले दोस्रोपटक सर्वोच्च पुगेको हो ।