कुन उमेरका युवतीलाई लगाइँदैछ ‘एचपिभी’ खोप ?



काठमाडौं । सरकारले यही भदौ २७ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाउँदै छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको यो ‘एचपिभी’ खोप किशोरी अर्थात १४ वर्ष पुगी १५ वर्ष नपुगेकालाई लगाइने छ ।

यो खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रमाणीकरण गरेकाले दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।


गत असारमा सरकारले चीनबाट खरिद गरेर पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी किशोरीलाई लगाउने भनेर २० हजार मात्रा ल्याएको थियो ।

महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार कोशी प्रदेशमा कोशी अस्पतालमा भदौ २८ देखि ३० गतेसम्म, मधेस प्रदेशमा वीरन्गजस्थित नारायणी अस्पतालमा भदौ २९ देखि ३१ गतेसम्म, बागमतीमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भदौ २७ देखि ३० गतेसम्म, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान भदौ २७ देखि ३० गतेसम्म खोप लगाइने छ ।

यस्तै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा भदौ २७ गतेदेखि ३० गतेसम्म, कर्णाली प्रदेशमा प्रादेशिक अस्पताल सुर्खेतमा भदौ २७ गतेदेखि ३० गतेसम्म र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा भदौ २७ गतेदेखि २९ गतेसम्म एचपिभी खोप लगाइने छ ।

यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । सो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपिभी खोप प्रदान गरिएको थियो ।

दुई मात्रा दिइने उक्त खोप १० हजार किशोरीलाई लगाइने र पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ । अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने छ ।

महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले डब्लुएचओले अरु खोपलाई जस्तै मान्यता दिएकाले सबैले ढुक्क भएर लगाउन आग्रह गरे । ‘एचपिभी खोपको प्रभावकारिता ९५ प्रतिशतदेखि ९९ प्रतिशत रहेको छ’, उनले भने ।

‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ । यस्तै एचपिभी सङ्क्रमण भएपश्चात् हालसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपिभी खोप लगाएमा सङ्क्रमण हुने सम्भावना समेत कम हुने गरेको खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए ।

नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ । सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदन अनुसार दुई हजार दुई सय ४४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ जना (६६ दशमलव पाँच प्रतिशत)को मृत्यु भएको छ ।

पाठेघरको मुखको क्यान्सरले ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ । ‘ह्युमन प्यापिलोमा भाइरस’का कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । सोही भाइरसविरुद्ध एचपिभी खोप प्रदान गर्न थालिएको हो ।

असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । एचपिभी खोप लगाएपछि किशोरीहरूमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने÷वाकवाकी लाग्ने, थकान महसुस हुने÷रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् ।

पाठेघरको मुखको क्यान्सरको सुरुको अवस्थामा महिलामा धेरैजसो लक्षण र चिह्नहरू देखिँदैन र अन्तिम अवस्थामा मात्र पहिचान हुने गर्दछ । पछि गएर तल्लो पेट दुख्ने, अनियमितरूपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी जम्ने, कमजोर हुँदै जाने र रक्तअल्पताजस्ता लक्षण पाठेघरको मुखको क्यान्सरमा देखिने गर्दछ ।