कुटनीतिक संवादमार्फत नक्सा विवाद समाधान गरिन्छः परराष्ट्रमन्त्री साउद



ओखलढुंगा । परराष्ट्रमन्त्री एनपी साउदले कुटनीतिक संवादमार्फत नक्सा विवाद समाधान गरिने बताएका छन् । आइतबार बिहान ओखलढुंगामा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री साउदले सरकारले कुटनीतिक संवाद र छलफलबाट नक्सा विवाद समाधान गर्न चाहेको बताएका हुन् ।

उनले सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहेको बताए । उनले भने, ‘हामी आफ्नो नक्सामा प्रतिबद्ध छौं, यसलाई धेरै विवाद गरेर अघि बढ्ने भन्दा पनि सबै देशसँग कूटनीतिक संवाद र छलफल गरेर विवादको समाधान गर्न चाहन्छौं ।’


उनले संसदबाट नक्सा पास गरेपछि सम्बन्धित देशहरूमा पठाएको नपाइएको जानकारी दिए । उनले भने, ‘त्यसबेला जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको भने पनि त्यस्तो नोट गएकोजस्तो जानकारी प्राप्त भएन।’

उनले चीनले हालै सार्वजनिक गरेको नक्साबारे यसअघि नै परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको बताए । चीनले केही दिन अघि जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश गरिएको छैन । चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।