काठमाडौँ महानगरको श्रम बैङ्कमा चार सय आवेदन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय आवेदन परेका छन् ।

गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय आवेदन परेका कामपा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् । उनका अनुसार कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो ।


सोही अनुसार महानगरले आवेदन माग गरेको हो । “यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी शुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ”, प्रमुख राईले भनिन् । उन का अनुसार केन्द्रमा एक महिनाको अवधिमा चार सय आवेदन परेका छन् ।

कामपाका ३२ वटै वडामा आवेदन आएको जानकारी प्राप्त भएको उनले बताइन् । कामपाले श्रम बैङ्क सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको जनाउँदै सङ्कलन भएका आवेदनबाट प्राथमिकिकरण र वर्गीकरणको काम भइरहेको प्रमुख राईले जानकारी दिइन् । “बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आबद्ध गराइएको हो”, उनले भनिन्, “कामपाले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार फोन नं र श्रमिक कहाँ बस्नेलगायत विवरण उल्लेख गरिएको हुन्छ ।”

कार्यक्रमको मुख्य उद्देश्य सहज रुपमा श्रमिक उपलब्ध गराई सीप क्षमता भएका श्रमिकलाई काममा लागाई उचित पारीश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताइन् ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ ।

राईका अनुसार आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउन पर्ने उनले बताइन् ।

“श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने छ”, प्रमुख राईले भनिन् , “यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ।” उनका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।