कसरी चल्यो शब्दकोशबाट ‘ॐ’ ध्वनि हटाइएको हल्ला ?



गंगाप्रसाद उप्रेती ।
केही दिनदेखि सामाजिक संजालमानेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशबाट ओम ध्वनि/वर्ण हटाइएको भनी निराधार र कपोलकल्पित हल्ला चलाई निम्न स्तरका गालीगलोज संप्रेषण गर्ने गरेका कुराले मेरो ध्यान आकर्षित भएको छ । तत्कालीन कुलपति र कुलपतिको दोस्रो कार्यकालमा नेपाली भाषा विभागको प्रमुखको हैसियतमा त्यसबारे सत्यतथ्य के हो सोबारे सार्वजनिक रूपमा बताउन आवश्यक ठानी यो विवरण प्रस्तुत गर्दैछु।
(क) शब्दकोशबाट ओम हटाइयो भन्नेबारे
उययुक्त कुरा पूर्णतः कपोलकल्पित, निराधार र झुटो हो । ने प्रज्ञा प्रतिष्ठानले संस्थागत रूपमा पहिलो पल्ट २०४० सालमा नेपाली बृहत् शब्दकोश प्रकाशित गरेको हो । त्यस मितिदेखि वि सं २०७७ सम्म विभिन्न संस्करण गर्दै यसका दसौं संस्करण र पुनर्मुद्रण गरी यो एघार पल्ट छापिएको छ । यी सबै संस्करणमा प्रयोग भएको वर्णविन्यासलाई प्रयोग गर्दै नेपालका विभिन्न क्षेत्रीय भाषिका, नेपालमा बोलिने बिभिन्न मातृभाषाहरूबाट नेपाली भाषामा आएका नयाँ शब्दहरू, नेपालबाहिर विशेषगरी नेपाली भाषा बोलिने भारतका आसाम, पश्चिम बङ्गाल, सिक्किम राज्य र भारतकै बनारस, देहरादून क्षेत्र लगायत भुटान समेतका क्षेत्रमा बोलिने स्थानीय भाषाका सम्पर्कबाट नेपपाली भाषामा आई पचेका शब्दहरूसमेत सङ्कलन र सम्पादन गरी पहिला प्रकाशित शब्दकोशका प्रविष्टिमा दोब्बर प्रविष्टि थप गरी नयाँ परिवर्तनका सनदर्भमा प्रविष्टिका अर्थ समेत लेखन गरी २०७९ सालमा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोशको नाममा प्रकाशित गरी यसलाई मोबाइल एप्समा समेत राखिएको छ।यसरी प्रतिष्ठानबाट प्रकाशित सबै संस्मरण र कोशमा ओम प्रविष्टि यथावत छ, हटाइएको छैन। पछिल्लो पल्ट प्रकाशित शब्दकोशमा त प्रतिष्ठानले बनाएको प्रज्ञा मन्जरी फनन्टमा अ,उ,मको संयुक्त उच्चारणबाट उत्पन्न वैदिक ध्वनि ओमलाई अक्षरकै रूपमा उतारी अर्थसहित पाना २७० मा हुबहुआकारमा दिइएको छ । तसर्थ उल्लिखित ओम हटाइयो भन्ने हल्लाबाट प्रष्ट हुन माथि उल्लिखित शब्दकोशका संस्करणका सम्बन्धित पाना हेर्नुहोला अथवा पछिल्ला संस्करणामका मोबाइल एप्सबाट पनि हेर्न सक्नुहुनेछ ।

(ख) यो हल्ला कुन पृष्ठभूमिमा चल्यो होला त ?


२०६३ को परिवर्तनपछिको प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व आइनसकेको अवस्थामा आन्दोलनपछिको सरकारले आफ्नो पाठ्यक्रम विकास केन्द्र अन्तर्गतको नेपाली भाषा बिषय समिति मार्फत त्रि वि को तत्कालीन कन्द्रीय स्तरका अनिवार्य नेपाली विभाग र नेपाली विभागको परामर्शमा पूर्व प्रचलनमा रहेका वर्णविन्यासमा फेरबदल गरी सोहीअनुरूप विद्यालय तहका नेपाली विषयका पाठ्यपुस्तक बनाई प्रयोगमा ल्याएको रहेछ । र वर्णविन्यासको यस्तो प्रयोगको व्यापक विरोध भएकै बेलामा वि सं २०६७ मा नयाँ नेतृत्व आएपछि हामीले नेपालका विशिषट भाषाशास्त्री, नेपाली भाषाका प्रयोगकर्ता, विद्यालय र विश्वविद्यालयका शिक्षक, प्राध्यापक, लेखक साहित्यकार र नेपालीभाषा पढाइने भारतका विश्वविद्यालय र विद्यालयमा नेपाली भाषा पढाउने शिक्षक, प्राध्यापक, लेखक, भाषिक अभियन्ताको बृहत् भेला गरी तीन दिने भाषिक विमर्श गराई सबैको सहमतिमा हाललाई मानक वर्णविन्यास निश्चित गरी अब उता सोही वर्णविन्यास लागू गर्न सबैलाई आह्वान गर्यौं (विस्तृत जानकारी प्रतिष्ठानबाट प्रकाशित नेपाली भाषा संगोष्ठी २०६७ बाट लिन सकिन्छ )र प्रतिष्ठानका शब्दकोश पनि सोही बमोजिम बनाउने निर्णयअनुसार प्रतिष्ठानको शब्दकोशका सातौं र आठौं संस्करण अद्यावधिक गरी छापिए । सम्मेलनको सोही समझदारी बमोजिम आफ्ना प्रकाशन अद्यावधिक गराउन नेपाल सरकारलाई अनुरोध पनि पठायौं । त्यतिबेलासम्म म प्रतिष्ठानको उपकुलपति र नेपाली भाषा विभागको प्रमुख थिएँ ।

वि सं २०७० मा म प्रतिष्ठानको कुलपति भएपछि प्रतिष्ठानको नेपाली भाषा, कोश तथा व्याकरण विभाग हेर्ने जिम्मा अर्कै व्यक्तिले पाउनुभयो । उहाँले प्रतिष्ठानमा आउनुअघि त्रिविको कन्द्रीय अनिवार्य नेपाली समितिको प्रमुख र शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रको नेपाली विषयको प्रमुख भई काम गरिसक्नुभएको रहेछ। उहाँले प्रतिष्ठानको शब्दकोशको नवौं संस्करण प्रकाशन गर्नेक्रममा प्राज्ञपरिषद्को जानकारी बेगर मन्त्रालयमा प्रयोग गराएको आफ्नै निजी वर्णविन्यास प्रयोग गरी विशेषगरी संयुक्तवर्ण व्यवस्थापन गर्नेक्रममा प्रचलित पद्दतिमा विचलन ल्याई, पदयोग वियोग सहित ह्रश्वदीर्घको प्रयोगमा पनि आफ्नै मान्यता लागू गरी शब्दकोशको नवौ संस्करण प्रकाशित (२०७२)गर्नुभएपछि त्यसमा भाषाका प्रयोगकर्ता, शिक्षक, प्राध्यापक तथा प्राज्ञिक व्यक्तित्वहरूले व्यक्तिगत एवम् संस्थागत रूपमा विरोध जनाए। त्यस्तो विरोधबाट प्रतिष्ठानको ध्यान आकर्षण भएपछि तत्कालीन कुलपतिको हैसियतमा मैले भषाशास्त्री प्रा डा चूडामणि बन्धुको संयोजकत्वमा विज्ञहरूको समिति गठन गरी शब्दकोशको नवौ संस्करणमा भएका विचलनको पहिचान गरी यो अधिका संस्करण समेतमा सुधार गर्नुपर्ने देखिए सो समेत उल्लेख गरी सुझाउसहित प्रतिवेदन पेस गर्न अनुरोध गरें ।

सो समितिले पनि शब्दकोशको नवौ संस्करणसहित यो अघि प्रकाशित संस्करणको अध्ययन गरी विचलन भएका कुरा देखाई नवौं संस्करण सच्याउन आवश्यक भएको उल्लेख गरी प्रतिवेदन दिएपछि म कुलपति आफैं संयोजक भई प्रा गोपीकृष्ण शर्मा, डा तुलसीप्रसाद भट्टराई, प्रा डा हेमनाथ पौडेल र डा कर्णाखर खतिवडा समेत रहेको समितिले तयार पारेका सच्चाउनुपर्ने बुँदाहरू प्राज्ञ परिषद्बाट अनुमोदन गराई नवौं संस्कणमा विचलनमा रहेको वर्णविन्यास सच्याई शब्दकोशको दसौं संस्करण वि सं २०७५ र यसको पुनर्मुद्रित संस्करण २०७७ सालमा प्रकाशित भए । दसौं संस्करणमा प्रयोग भएको वर्णविन्यास प्रयोग गरी नयाँ बृहत् आकारको प्रज्ञा नेपाली बृहत् शब्दकोश पनि वि सं २०७९ मा प्रकाशित भई त्यसलाई मोबाइल एप्समा पनि राखिएको छ। दसौं संस्करणमा सच्याइएको वर्णविन्यासलाई नै पालनगरी नेपाल सरकार शिक्षा मन्त्रालयले आफ्ना पाठ्यपुस्तकको वर्णविन्यास सच्याई पाठ्यसमाग्री प्रयोगमा ल्याइसकेको छ।

२०७२ को वर्णविन्यासको विषयलाई आधार बनाई केही व्यक्तिले वर्णविन्यास सुधारका कुरालाई अनदेखा गरी त्यतिबेलै सम्मानित सर्वोच्च अदालतमा रिट दर्ता गराएका रहेछन् । प्रज्ञा प्रतिष्ठानलाई समेत विपक्षी बनाइएको रिटमा कारण देखाऊ भन्ने सामान्य प्रकारको आदेश भएको र सोबारे प्रतिष्ठानलाई जनकारी प्राप्त भएको हो । सो रिटमा अन्तरिम आदेश भएको होइन । त्यस्तो कुनै आदेश भएको जानकारी प्रतिष्ठानलाई छैन । सम्मानित अदालतले मागेको जानकारी सहित विवादित वर्णविन्यास सच्याई शब्दकोशको नयाँ संस्करण प्रकाशित भइसकेको जानकारी र त्यतिबेला लिएका निर्णयसहितका कागजात प्रतिष्ठानका कानुनी सल्लाहकारमार्फत त्यतिबेलै सम्मानित अदालतलाई पठाइसकिएको हो । तर मुद्दाका चापका कारणले हामी कार्यरत रहँदासम्म मुद्दा पेसीमा चढ्न सकेको थिएन । त्यस यता के हुँदैछ वर्तमान नेतृत्वलाई थाहा होला । सर्वोच्चमा परेको रिटमा कुनै पनि रिट निवेदकले अहिले हल्ला भए जस्तो ओम प्रविष्टि कोशबाट हटाएको वा हटाउन लागेको कुरा आफ्नो निवेदनमा उल्लेख गरेका छैनन् । हुँदै नभएको कुरा उल्लेख हुने सन्दर्भनै थिएन । रिटमा उठाइएका कुरा सच्चिइसकको जानकारी सम्मानित अदालतलाई भइसकेकाले सोही बमोजिम उचित समयमा अदालतबाट निर्णय होला नै ।

यसरी विवादित वर्णविन्यास सच्याई विवादित विषय टुङ्गो लागिसकेको अवस्थामा मान्छेको धार्मिक आस्थासँग जोडिएको संवेदनशील कुरामा निराधार हल्ला चलाई मुलुकमा कायम रहेको सामाजिक एवम् सास्कृतिक सद्भाव बिथोल्न खोज्ने दुष्प्रयास कसैवाट हुनु जघन्य अपराध नै हो । यस्तो कुरा सभ्य समाजमा क्षम्य हुँदैनन् । विवेक हामी मान्छेको सर्वश्व हो । विवक गुमाएर पशु हुने कर्म हामी कसैले नगरौं । आधारहीन हल्लाको खेती नगरौं र सत्यतथ्य नबुझी हल्लाका पछि नलागी जताततै जोकोही बिरुद्ध विष बमन गरी कुसंस्कारको प्रदर्शन नगरौं ।

उप्रेती नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति हुन् ।