जाजरकोट । भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८ दशमलव ६ प्रतिशत जनसङ्ख्यमा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ ।
जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार कर्णालीको तीन लाख ६६ हजार ३७ परिवारमध्ये ३५ दशमलव ६ प्रतिशत परिवारलाई बाहिर धारा जडान गरी घर परिसरभित्र पानी उपलब्ध हुँदै आएको छ । त्यस्तै ४४ दशमलव ४ जनसङ्ख्यालाई पाइपबाट घर परिसर बाहिर धाराको पानी उपलब्ध छ । चार प्रतिशत परिवारले ट्युबवेलको पानी पिउने गरेको समेत तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै २ दशमलव १ प्रतिशत नागरिकले टाँकिएको इनारबाट, शून्य १ प्रतिशतले जारको पानी, खुला इनार र कुवाको पानी प्रयोग गर्ने घरधुरी सङ्ख्या २ दशमलव ५ प्रतिशत र २ दशमलव १ प्रतिशत जनसङ्ख्याले खोलाको पानी प्रयोग गरिरहेको योजना महाशाखा सिडिइ गोपाल शर्माले जानकारी दिए । सन् २०१९ को तथ्याङ्कअनुसार कर्णालीमा ३ दशमलव ५ प्रतिशत जनसङ्ख्यलाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ ।
सन् २०२१ को तथ्याङ्कअनुसार तीन लाख ६६ हजार ३७ घरधुरी रहेको कर्णालीमा धारा, पाइपमार्फत परिसरभित्र पानी पिउने घरधुरीको सङ्ख्या एक लाख ३० हजार चार सय ६५ परिवार रहेको छ । धारा, पाइपमार्फत परिसर बाहिर एक लाख ६२ हजार ६ सय १९ जनालाई पानी उपलब्ध हुँदै आएको छ । एक हजार ६ सय ३५ घरधुरीले ट्युबवेलमार्फत पानी उपभोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
राम्रोसँग ढाकिएको कुवाबाट पानी पिउने परिवारको सङ्ख्यामा सात हजार पाँच सय ७३ रहेको छ । नौ हजार दुई सय १० परिवारले खुला रूपमा रहेको राम्रो कुवाको पानी पिउने गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै ४८ हजार ६ सय ९९ जनाले थोपा पानी प्रयोग गरिरहेको उल्लेख गरिएको छ । चार हजार दुई सय ७६ घरधुरीले नदी र खोलाको पानी पिउने गरेको उल्लेख छ । जार र बोतलमा पानी पिउनेको सङ्ख्या चार सय ८० घरधुरी रहेको छ । त्यस्तै अन्यमा एक हजार ८० घरधुरी रहेको छ ।
डोल्पामा नौ हजार तीन सय ८० घरधुरीमा तीन हजार एक सय १७ घरधुरीले घरभित्र धारा बनाएर पानी खाइरहेको पाइएको छ भने चार हजार दुई सय ५२ घरधुरीले घरबाहिर परिसरमा धारा बनाएर पानी पिउने गरेको तथ्याङ्कमा उल्लेख छ । राम्रोसँग ढाकिएको कुवाको पानी १८ घर, राम्रो रहेको खुला कुवाको पानी एक सय ९२ घरधुरी, एक हजार चार सय १३ घरधुरीलाई थोपा पानी, तीन सय ६३ घरमा खोलाको पानी र अन्यबाट ११ घरधुरीले पानी डोल्पामा खाइरहेको मन्त्रालयले जनाएको छ ।
बाह्र हजार चार सय ३० घरधुरी रहेको मुगुमा दुई हजार एक सय चार घरधुरीले घरभित्र पानी पिउने गरेका छन् भने घर बाहिरको धारामा पाँच हजार ६ सय ७५ घरले पानी प्राप्त गर्दै आएको उल्लेख छ । राम्रोसँग ढाकिएको कुवाको पानी तीन परिवारका र खुला कुवाको पानी ४३ घरले, थोपा पानी चार हजार दुई सय ४३ घरधुरीले, तीन सय ५० घरले खोलाको पानी, जार बोतलको एक, अन्य ११ परिवारले पानी प्रयोग गरिरहेको पाइएको छ ।
हुम्लामा ११ हजार दुई सय चार घरधुरीमा दुई हजार दुई सय २३ घरधुरीले घरभित्र पाइपमार्फत पानी प्रयोग गर्दछन् भने सात हजार एक सय ५७ घरले खुला स्थानको पानी प्रयोग गरिरहेका छन् । त्यस्तै दुई घरले ट्युबवेल, ढाकिएको कुवाको पानी दुई घर, राम्रोसँग ढाकिएको कुवाको पानी तीन, खुला कुवाको पानी २०, थापाको पानी एक हजार पाँच सय ५५, नदी र खोलाको पानी ८५ परिवार, एक सय ५९ परिवारले अन्य स्रोतबाट पानी पिउँछन् ।
जुम्लामा २४ हजार चार सय २२ घरधुरीमा घरभित्र पानी प्रयोग गर्नेको सङ्ख्या नौ हजार आठ सय ८६ रहेको छ । १० हजार तीन सय ३९ घरले परिसर बाहिरको धाराको पानी पिउने गरेको पाइएको छ । ढाकिएको कुवाको पानी १५ परिवार र खुला कुवाको पानी ४४ घरले पिउने गरेका छन् । थोपाको पानी तीन हजार आठ सय ७४ घरधुरीले प्रयोग गर्दै आएका छन् । नदी खोलाको दुई सय १४ घरले पानी पिउँछन् । अन्य ६० परिवारले विभिन्न माध्यमबाट पानी पिउने गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले बताए।
कालीकोटमा २६ हजार सात सय २० घरधुरीमध्ये ६ हजार दुई सय ९३ घरधुरीले घरभित्र नै पानी पिउने गरेको छन् भने परिसर बाहिरका १३ हजार पाँच सय ९५ घरधुरीले पानी प्रयोग गर्दछन् । ट्युबवेलको पानी एक घरले, ४२ घरधुरीले ढाकिएको कुवाको पानी, खुला कुवाको पानी दुई सय ३७ घर, थोपाको पानी ६ हजार तीन सय ६० घरधुरी, दुई सय २५ घरले नदी खोलाको पानी, अन्य १६ र जारको पानी एक घरले पिउने गरेका पाइएको छ ।
त्यसैगरी ५४ हजार पाँच सय ९४ घर भएको दैलेखमा १८ हजार ६ सय ७९ धुरीले घरभित्रको पानी प्रयोग गरिरहेका छन् भने घरबाहिर परिसरमा २४ हजार आठ सय तीन घरधुरीले पानी प्रयोग गर्दछन् । पाँच सय ३१ घरधुरीले ढाकिएको कुवाको पानी र खुल्ला कुवाको पानी एक हजार दुई सय ५४ घरघुरीले पानी पिउँछन् । आठ हजार नौ सय ३१ घरधुरीले थोपाको पानी प्रयोग गरिरहेका छन् । नदी खोलाको पानी तीन सय घरधुरीले, अन्य माध्यमबाट ७५ र जार बोतलको २१ घरधुरी रहेका छन् ।
जाजरकोटमा ३७ हजार चार सय ५३ घरधुरीमध्ये १३ हजार एक सय ५४ घरधुरीले घरभित्र नै पानी प्रयोग गरिरहेका छन् भने घर परिसर बाहिर १८ हजार तीन सय १२ घर, बन्द कुवाको पानी ६४, खुल्ला कुवाको पानी तीन सय ८२, थोपा पानी पाँच हजार ४४, तीन सय ५३ परिवारले खोलाको, २१ परिवारले जार, एक सय २३ परिवारले विभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए ।
त्यसैगरी ३७ हजार दुई सय ९० घरधुरी रहेको रुकुम पश्चिममा १५ हजार एक सय ५७ घरघुरीले घरभित्र नै पानी प्रयोग गरिरहेकामा घरबाहिर परिसरमा १८ हजार नौ सय ८६ परिवार रहेका छन् । १९ ढाकिएको कुवामा र दुई सय ९९ परिवारले खुल्ला कुवाको पानी प्रयोग गरिरहेको पाइएको छ । त्यस्तै दुई हजार ६ सय आठ परिवारले थोपाको पानी र एक सय ९५ परिवारले खोलाको पानी, जारको पानी आठ परिवार र अन्य १८ परिवारले विभिन्न स्रोतबाट पानी पिउने गरेका छन् ।
त्यस्तै ५४ हजार ६ सय ७२ घरधुरी रहेको सल्यानमा घरभित्र पानी पिउनेको सङ्ख्या २० हजार २८ रहेकामा घरबाहिर परिसरबाट पानी ल्याउने परिवारको सङ्ख्या २६ हजार ५० रहेको छ । त्यस्तै ६ सय ९८ परिवारले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी एक हजार ६ सय ९७ परिवार, थोपा पानी पाँच हजार तीन सय ८८ परिवार रहेको छ । सात सय २३ परिवारले खोलाको, ६ परिवारले जार र अन्य स्रोतबाट पानी पिउनेको सङ्ख्या ८२ रहेको छ ।
प्रदेश राजधानी रहेको सुर्खेतमा ९७ हजार आठ सय २२ घरधुरी रहेकामा घरभित्र पानी पिउनेको सङ्ख्या ३९ हजार सात सय ७० रहेकामा घरबाहिर परिसरमा पानी प्रयोग गर्नेको सङ्ख्या ३३ हजार सात सय ६० रहेको छ । त्यस्तै एक हजार ६ सय ३२ परिवारले ट्युबवेलको पानी प्रयोग गर्दछन् । त्यस्तै ६ हजार एक सय ८० घरधुरीले ढाकिएको कुवाबाट, खुल्ला कुवाबाट पाँच हजार ८२ घर, नौ हजार दुई सय ८३ घरले थोपा पानी, नदी खोलाको पानी पिउनेको सङ्ख्या एक हजार चार सय ६८ परिवार, चार सय २२ परिवारले जार, अन्य स्रोतबाट पानी पिउनेको सङ्ख्या पाँच सय २५ रहेको छ ।