ओलीको प्रश्न- प्रधानमन्त्री बाहिर जाँदा संसद् बन्द गर्नुपर्छ?



काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठक लामो समय स्थगित गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सोमबार काठमाडौंमा पार्टीको वाग्मती प्रदेशको पहिलो अधिवेशन उद्घाटनपश्चात् उनले संसद् बैठकबाट सरकार डराएको टिप्पणी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशबाहिर जाँदा संसद् बैठक लामो समय स्थगित गरिएको भन्दै उनले आपत्ति जनाएका हुन् ।



उनले भने, ‘प्रधानमन्त्री बाहिर जाँदा १७ दिनसम्म संसद् बन्द गर्नुपर्छ ? भारतका प्रधानमन्त्री बाहिर जानुहुन्छ, त्यहाँ ताला बन्द हुन्छ ? त्यहाँ चल्छ, सरकारलाई डर छ संसद् चले सांसदले जनताको समस्या उठाउँछन् भनेर । जनताको समस्यामा छलफल गर्नु पर्दैन ?’

उनले काठमाडौं महानगरपालिका मेयर बोलेन्द्र साह (बालेन)प्रति लक्षित गर्दै दम्भ र घमण्डले मान्छेलाई बिगार्ने टिप्पणी गरे ।
अभियन्ता भन्न रुचाउने इशान अधिकारी उर्फ ईः लगायतका केही युवाको धर्नामा छन् । त्यही प्रशंगलाई लिएर ओलीले युवाहरु १२५ घण्टादेखि उभिएर सत्याग्रह गरिरहेको अवस्थामा सरकार नपुगेको भन्दै आलोचना गरे ।

उनले भने, ‘सरकारले केही सोधेन एकजनाले जोसँग सम्बन्धित छ विषय तीनका नेताहरुसँग वार्ता गर्नुपर्ने ? तीनका नेता खोज्दै जानुपर्ने वार्ता गर्नुपर्ने ? आदि अभिव्यक्ति गर्या सुनें, दम्भ र घमण्डलेृ मान्छेलाई बिगार्छ । समस्या बल्झाएर कोही सफल हुँदैन ।’

‘अभियन्ता ईः’ को धर्नामा राजनीति जोडिएको आशंका गर्दै बालेनले तीनका नेताहरुसँग वार्ता गर्नुपर्ने भन्दै फेसबुकमा लेखेका थिए । यसबारे कांग्रेस महामन्त्री गगन थापाले बालेनसँग वार्ताको प्रयास गरेपछि बालेनको यस्तो टिप्पणी आएको थियो ।

ओलीले भने, ‘ती युवाहरु नगरप्रहरीको ज्यादतिविरुद्ध उभिएका हुन् । मैले यसो टेलिभिजनहरुमा हेर्छु । नगरप्रहरीको व्यवहार तमासा छ । सिट बजाउँदै आतंक मच्याउँदै कुदेका छन् । त्यसले समाधान हुँदैन । सडकमै बेच्नुपर्छ भन्ने छैन। विकल्प दिऔं ।’