एसियाली खेलकूद : पब्जी खेलमा नेपाल सेमिफाइनलमा प्रवेश



काठमाडौं । चीनको ङझाउका जारी एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी गेममा नेपाली टिम सेमिफाइनलमा पुगेको छ । शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शुक्रबार खेलेका थिए । प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया थिए । जसमा हङकङ शीर्ष स्थानमा रहँदा नेपालले प्लेस्टाइन र साउदीलाई पछि पारेको हो ।


हङकङको ५१ मिनेट ०९.९८३ सेकेन्ड, नेपालको ५४ मिनेट ०४.८४२ सेकेन्ड, प्लेस्टाइनको १ घन्टा ४९.५२७ सेकेन्ड र साउदीको १ घन्टा ३ मिनेट ४५ः१०७ सेकेन्डको टाइमिङ रह्यो ।

श्क्रबार नै भएको खेलमा समूह ‘ए’बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगे। यस्तै समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन्। नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेको छ ।

अब चार समूहबाट आएका शीर्ष दुई–दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल हुनेछ। सेमिफाइनलका दुवै समूहमा चार–चार टिम हुनेछन् । अब नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ ।