एसियाली खेलकुदमा सहभागी हुने नेपाली महिला फुटबल टोली चीन प्रस्थान



काठमाडौं । १९औं एसियाली खेलकुदमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज (सोमबार) चीन प्रस्थान गरेको छ । नेपाली महिला फुटबल टिम पहिलोपटक एसियाली खेलकुदमा सहभागी हुन लागेको हो ।

एसियाली खेलकुदमा महिला फुटबल असोज ४ देखि १९ गतेसम्म हुनेछ । नेपाल रहेको समूह डीमा जापान, भियतनाम र बंगलादेश छन् । नेपालले पहिलो खेलमा भियतनामसँग आगामी शनिबार खेल्नेछ ।


त्यसैगरी जापानसँग असोज ८ गते र बंगलादेशसँग असोज ११ गते खेल्नेछ । एसियाडका लागि नेपालबाट यसअघि पुरुष भलिबल र कराते टोली चीन प्रस्थान गरिसकेका छन् । अरु खेलका खेलाडी पनि चीन जाने तयारीमा छन् । नेपालले यसपटक एसियाडमा २९ खेलमा सहभागिता जनाउँदै छ ।