एन्टार्कटिका क्षेत्रका बरफ टुक्रँदा हजारौँ पेङ्ग्विनको मृत्यु



दक्षिणी ध्रुव अर्थात् एन्टार्कटिक क्षेत्रमा बस्ने एम्परर पेङ्ग्विनका बचेराहरूको मृत्युको सङ्ख्या बढ्ने क्रम देखा परेको छ । त्यहाँ झण्डै १० हजार त्यस्ता पक्षीहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

ती चल्लाहरूले समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास गर्न सक्नु अघि नै मुनिको समुद्री बरफ पग्लिएपछि त्यस्तो अवस्था सिर्जना भएको हो । ती चराहरू कि त डुबेर वा ठिहिरिएर मरेको हुनसक्ने बताइएको छ ।


सन् २०२२ को अन्त्यतिर भएको त्यस्तो घटना उक्त महादेशको पश्चिमतर्फ बेलिङ्जहाउजन सागरमा तैरिएको क्षेत्रमा भएको थियो । घटना भूउपग्रहमार्फत रेकर्ड गरिएको थियो । ब्रिटिश एन्टार्कटिक सर्भे (बीएएस)का डा पिटर फ्रेटवेल त्यहाँ भएको विनाश भविष्यमा हुनसक्ने घटनाको सङ्केत रहेको बताउँछन् ।

एम्परर पेङ्ग्विनको ९० प्रतिशत भन्दा धेरै बथान यस शताब्दीको अन्त्यसम्ममा लोप हुने प्रक्षेपण गरिएको छ । उक्त महादेशको मौसमी बरफ सागरले पृथ्वीमा दिनदिनै बढिरहेको तापमानको मार खेपिरहेको छ।